काठमाडौं । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गौशाला नगरपालिका–१, विश्वकर्मा चोकस्थित गौशाला–माइस्थान सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पाँच वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको हो । गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज. ७ प. ३७८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा गौशाला नगरपालिका–१ वानटोलका पाँच वर्षीय आदित्यकुमार महतोलाई ठक्कर दिँदा टाउकामा गम्भीर चोट लागेको थियो ।उनलाई शुभ स्वस्तिक अस्पताल बर्दिबासमा सामान्य उपचार गरेर त्यहाँबाट थप उपचारका लागि जनकपुरतर्फ पठाइएको थियो । बर्दिबास, जनकपुरका अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई मेडिसिटी अस्पताल ललितपुर रिफर गरिएको प्रहरीले जनाएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा आदित्यको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक गौशाला नगरपालिका–८, बेलगाछीका ४१ वर्षीय दिलीपकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
२०८३ भाद्र ५, शुक्रबार १५:३६



