चन्द्रपुरको आर्थिक ताला खुल्दै, रोकिएका कामले पाउनेछन् गति

रौतहट । लामो समयदेखि अवरुद्ध चन्द्रपुर नगरपालिकाको बैंक खाता सञ्चालनमा आउने भएको छ। नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत भद्रिराज ढकालबीचको असमझदारीका कारण रोकिएको आर्थिक कारोबारलाई निकास दिन कार्यपालिका सदस्यहरूले थालेको पहलपछि खाता सञ्चालनको वातावरण बनेको हो। कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार समिति संयोजक कल्याण कुश्वारले नगरपालिकाको आर्थिक गतिविधि रोकिँदा त्यसको प्रत्यक्ष असर नगरवासीमा परेको भन्दै विवाद समाधानका लागि सक्रियता बढाएका थिए। वडा नम्बर १ का अध्यक्ष बलराम राउतसहित अन्य कार्यपालिका सदस्यहरूले समेत दुवै पक्षबीच समन्वय गरी खाता सञ्चालनका लागि पहल गरेका थिए। बैंक खाता सञ्चालन नहुँदा कर्मचारीको तलबभत्ता, विकास निर्माणका योजना, उपभोक्ता समिति तथा निर्माण व्यवसायीको भुक्तानीलगायत नगरपालिकाका नियमित काम प्रभावित भएका थिए। कतिपय योजना सम्पन्न भइसके पनि भुक्तानी रोकिँदा सम्बन्धित पक्ष समस्यामा परेका थिए। आर्थिक कारोबार अवरुद्ध हुँदा चन्द्रपुरमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि औषधि खरिद, पशु उपचार तथा अन्य आवश्यक कार्यक्रम सञ्चालनमा समेत समस्या उत्पन्न भएको थियो। यसलाई मध्यनजर गर्दै जनप्रतिनिधिहरूले तत्काल आर्थिक कारोबार सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। जनप्रतिनिधिहरूका अनुसार सोमबारदेखि मंगलबारसम्ममा नगरपालिकाको बैंक खाता सञ्चालन गर्ने तयारी भइरहेको छ। खाता खुलेपछि रोकिएका भुक्तानी र विकास निर्माणका काम क्रमशः अघि बढ्ने अपेक्षा गरिएको छ। कुश्वारले नगरपालिकाभित्रको असमझदारीलाई व्यक्तिगत विषय नबनाई जनताको कामलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। उनका अनुसार आर्थिक कारोबार सञ्चालनपछि पनि नगरपालिकालाई प्रभावकारी रूपमा चलाउन जनप्रतिनिधि र प्रशासनबीच निरन्तर संवाद र सहकार्य आवश्यक छ।