लन्डन । बेलायतमा आयोजित चौथो विश्व कराते च्याम्पियनसीप २०२६ मा नेपाली बाबु–छोराले नै पदक जितेका छन् । वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले गत ९ देखि ११ अक्टोबरसम्म के टु एरिना क्रली इंग्ल्याण्डमा आयोजना गरेको प्रतियोगितामा १३ वर्षीय एड्रियन क्षेत्री र उनका पिता ५२ वर्षीय ज्ञानेन्द्र क्षेत्रीले सिल्भर मेडल जितेका हुन् । १७२ देशका खेलाडी सहभागी उक्त प्रतियोगितामा एड्रियनले अन्डर १५ क्याटेगोरिजमा सिल्भर मेडल जित्दा उनका बुबा ज्ञानेन्द्रले सोही च्याम्पियनसीपमा अण्डर ६० मा सिल्भर मेडल जिते । यस अतिरिक्त फेमिली काता ओपन वानमा बाबु छोराले अर्को सिल्भर मेडल पनि जितेका छन् । बर्लिनमा हुने भनिएको यस प्रतियोगिता इंग्ल्याण्डमा भएको थियो । लन्डन क्वीन्सबरीस्थित क्यानन हाइस्कुलमा कक्षा ९ मा अध्ययनरत एड्रियनले गत वर्ष अण्डर १५ क्याटेगोरिजमा गोल्ड मेडल र बुबा ज्ञानेन्द्रले अण्डर ६० मा सिल्भर मेडल जितेका थिए । एड्रियनले यसअघि अण्डर १० र ०२४ को ईयू च्याम्पियनसीप अण्डर १५ मा पनि मेडल जितेका थिए । लन्डन बार्नेटमा जन्मिएका एड्रियन ५ वर्षको छंदा सन् २०१७ देखि यस खेलमा आवद्ध भएका थिए । वान डान एड्रियन जुनियर इन्सट्रक्टर पनि हुन् । ’ट्रान्सपोर्ट फर लन्डन’ मा विगत २४ वर्षदेखि कार्यरत वरिष्ठ इन्जिनियर ज्ञानेन्द्र क्षेत्रीले यसअघि अण्डर ५० मा गोल्ड मेडल जितेका थिए । ब्ल्याक बेल्ट ज्ञानेन्द्र सिनियर इन्सट्रक्टर पनि हुन् । प्रशिक्षणबाहेक कराँते ’डान’ ग्रेडिङ र आधिकारिक प्रमाणपत्र प्रदान गर्ने उनको जिम्मेवारी छ । आउंदो महिना जजिङ र कोचिङको ’सी’ लाइसेन्स लिने तयारी गरिरहेको ज्ञानेन्द्रले बताए । बाबु छोरा सोमबार, मंगलबार, बुधबार र बिहीबार ६ देखि ८ बजे सांझ कराते प्रशिक्षणमा व्यस्त हुन्छन् । छोरालाई सिकाउन लाने क्रममा आफू पनि खेल्न प्रेरित भएको उनी बताउंछन् । काठमाडौं गोकर्णका स्थायी बासिन्दा क्षेत्रीले खेल खेल्न उमेर बाधक नहुने बताए । जागिरबाट अवकास भएपछि पनि प्रशिक्षकका रुपमा आफू यसैमा समर्पित हुने लक्ष्य उनको छ । स्वस्थ्य रहन पनि खेल आवश्यक भएकाले सबैलाई शारिरीक अभ्यास गर्न उनले सुझाए । इन्जिनियर क्षेत्री गीतकार पनि हुन् । उनको लेखन तथा गायक गायिका तिलक बस्नेत र बन्दना पाण्डेले गाएको ’पैसा पैसा’ भन्ने गीत एवं म्यूजिक भिडियो निकै लोकप्रिय भएको थियो । यसबाहेक माया र प्रेमलाई संस्कार र प्रकृतिसंग संयोजन गरिएको उनको ’पीर नगर निरमाया’ बोलको अर्को गीतको भिडियो पनि यूट्युबमा लाखौंले हेरेका छन् ।
२०८३ कार्तिक ३, सोमबार ०७:०६




