
सिरहा । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर सिरहाको गोलबजारमा पनि प्रदर्शन भएको छ । गरिमालाई न्यायको माग गर्दै युवा समूह गोलबजारको आयोजनामा शुक्रबार शान्तिपूर्ण र्याली निकालिएको हो । इलाका प्रहरी कार्यालय गोलबजार अगाडिबाट सुरु भएको र्याली भूमिजा अस्पतालको गल्ली हुँदै गोलबजारको मुख्य चोक गोलपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरूले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर ‘गरिमा बहिनीलाई न्याय दे’, ‘बालेन सरकार न्याय दे’, ‘गृहमन्त्री न्याय दे’, ‘हत्यारालाई कारबाही गर’, ‘राजनीतिक सम्झौता चल्दैन’, ‘पीडित परिवारलाई न्याय दे’, ‘नारीमाथिको अन्याय बन्द गर’ र ‘नारीमाथिको हिंसा सहँदैनौँ’ लगायतका नारा लगाएका थिए । कोणसभालाई सम्बोधन गर्दै युवा समूह गोलबजारका अगुवा तथा अभियन्ता वीरेन्द्र सिंह (वीरेन) ले गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्दै पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरे ।



