पोर्चुगलमा सेफ सापकोटाले सुरु गरे वर्षभरि चल्ने ‘च्यारिटी डिनर’

काठमाडौं । पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका चर्चित नेपाली सेफ हुन्– टंक सापकोटा । पोर्चुगलको लिस्बनमा लामो समयदेखि उनले परम्परागत रेस्टुरेन्ट ‘कासा नेपालेसा’ सञ्चालन गर्दै आएका छन् । पोर्चुगलमा चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सापकोटाको ‘फोर्नो दि ओरो’ नामक रेस्टुरेन्ट युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकै नम्बर १० मा परेको थियो । उनै सापकोटाले आफ्नो पोर्चुगल आगमनको ३० औं वर्षगाँठको अवसरमा वर्षभरि चल्ने विशेष परोपकारी डिनर श्रृंखलाको घोषणा गरेका छन् । लिस्बनस्थित उनको परम्परागत रेस्टुरेन्ट ‘कासा नेपालेसा’ मा आयोजना हुने यस अभियानले नेपाली मौलिक स्वाद र सांस्कृतिक वैभवमार्फत नेपाल र पोर्चुगलका असहाय बालबालिकाहरूलाई सहयोग गर्ने लक्ष्य राखेको उनले बताएका छन् । सापकोटाले सन् १९९६ मा पोर्चुगल प्रवेश गरेदेखि हासिल गरेको सफलताको सम्मान स्वरूप आफ्नो जरा र मौलिक संस्कृतिलाई पोर्चुगाली नागरिकमाझ पुर्‍याउन र आफूलाई प्राप्त सहयोगप्रति कृतज्ञता जनाउन यस्तो कार्य अघि बढाइएको उनले बताएका छन् । ६ मे २०२६ बाट सुरु भएर मे ५, २०२७ सम्म यो श्रृङ्खदा चल्ने जानकारी गराइएको छ । यो श्रृंखलामा प्रत्येक महिनाको पहिलो बुधबार विशेष रात्रिभोज आयोजना गरिनेछ, जसको शुल्क ६० यूरो प्रतिव्यक्ति तोकिएको छ । ‘यो मेरो लागि धेरै विशेष पहल हो, जसलाई मैले ठूलो स्नेहका साथ अंगालेको छु,’ सापकोटाले भनेका छन् । नेपालको हिमालदेखि तराईसम्मका परम्परागत क्षेत्रीय परिकारहरू पस्कनेगरी यो कार्य भएको जनाइएको छ ।एसओएस चिल्ड्रेन्स भिलेज पोर्चुगलकी महानिर्देशक गुइडा मेन्डेस बर्नार्डोले यसलाई संस्कृति र सामाजिक जिम्मेवारीको प्रेरणादायी संगम भनेकी छिन् ।