
काठमाडौं । एकान्तकुनामा यात्रुलाई मुक्का हान्ने एक सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ५ ख ६८४० नम्बरको यात्रुबाहक बसका सहचालक भोजपुरको साल्पासिलिचो गाउँपालिका–४ घर भएका २६ वर्षीय कुशाङ्ग शेर्पा छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले शेर्पालाई पक्राउ गरिएको पुष्टि गरे । सुकेधारा बस्दै आएका उनलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको एसएसपी अधिकारीले बताए । यात्रुलाई मुक्का हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिकले उनलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको हो ।



