जेन–जी आन्दोलनका क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझै बेपत्ता

वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझैसम्म बेपत्ता रहेका छन्।गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीका साना–ठूला गरी ११ सयभन्दा बढी हतियार लुटिएका थिए। आन्दोलनकारीहरूले प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी गर्दै हतियार लुटपाट गरेका दृश्य र भिडिओहरू सार्वजनिक भएका थिए। तीमध्ये करिब तीन सयभन्दा बढी हतियार फिर्ता गरिएको वा सुरक्षा निकायले बरामद गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। तर अझै पनि ८ सयभन्दा बढी हतियार हराइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार हराइरहेका हतियार पत्ता लगाउन समितिहरू गठन गरी खोजी कार्य जारी छ। उनले भने, “हामीले विभिन्न निकायसँग सहकार्य गर्दै हतियार पत्ता लगाउने कामलाई प्राथमिकता दिएका छौं।”हतियार अझै फिर्ता नहुँदा सुरक्षा चुनौती थपिएको छ। केही स्थानमा प्रहरीहरू हतियारविहीन भएर ड्युटी गर्न बाध्य भएको स्रोतले जनाएको छ। लुटिएका केही हतियार नेपाली सेनाले बरामद गरेको र केही व्यक्तिलाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। तर ठूलो मात्रामा हतियार अझै हराइरहेकाले त्यसको दुरुपयोग हुने चिन्ता बढेको छ। जेन–जी आन्दोलनका क्रममा प्रहरीका हतियार बोकेर प्रदर्शनमा सहभागीहरू खुलेआम हिँडेको दृश्यहरू सामाजिक सञ्जालमा देखिएका थिए। सोही घटनामा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई र प्रहरी प्रभाग कोटेश्वरका एक गरी तीन प्रहरीले ज्यान गुमाएका थिए। कसैले भागेर र कसैले आत्मसमर्पण गरेर ज्यान बचाएका थिए। अहिले पनि प्रहरीले आन्दोलनमा लुटिएका हतियार फिर्ता गर्न सर्वसाधारणलाई सार्वजनिक अपिल गरिरहेको छ।