![]()
जनकपुरधाम । धनुषा जिल्लाको रुपैठामा दुर्गा पूजाको मूर्ति बिसर्जनका क्रममा हिन्दू समुदायमाथि भएको हिन्सात्मक आक्रमणका दोषीलाई कारवाही नगरी उल्टै हिन्दू युवाहरूलाई पक्राउ गरिएको भन्दै जनकपुरमा धर्ना कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियानको पहलमा मंगलबार जनकपुरको जनक चौकमा आयोजित धर्ना हिन्दुवादी युवा नेता मनीष पुर्वे र उर्मिला महतोको नेतृत्वमा सम्पन्न भएको हो। धर्नामा सहभागीहरूले धनुषा प्रहरी प्रशासनविरुद्ध कडा नाराबाजी गर्दै निर्दोष हिन्दू युवाहरूको तत्काल रिहाईको माग गरे। अभियानका नेताहरूले भने, “धर्म र संस्कृतिको संरक्षण गर्ने युवामाथि कारवाही गर्नु अन्यायपूर्ण कदम हो। प्रशासनले मूर्ति बिसर्जनका क्रममा आक्रमण गर्ने अपराधीमाथि कारवाही गर्नुपर्नेमा उल्टै पीडित समुदायका युवाहरूमाथि दमन गरेको छ, जुन अस्वीकार्य छ।”धर्नामा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, हिन्दू संगठनका कार्यकर्ता र स्थानीय नागरिकहरूको समेत उपस्थिति थियो। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, आक्रमणका दोषीमाथि तत्काल कारवाही र गिरफ्तार गरिएका युवाहरूको बिना शर्त रिहाईको माग गरे। उक्त घटनापछि सुरक्षात्मक चासो बढ्दै गएपछि स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा राख्न थप प्रहरी परिचालन गरिएको जनाएको छ।


