साउथ सिटी हिमाल हस्पिटलको मानवीय कदम, आर्थिक सङ्कटमा परेको परिवारको निःशुल्क उपचार

वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका अधनवाका दया राम र उनकी श्रीमती कान्ति रामको नवजात शिशुलाई वीरगञ्जस्थित साउथ सिटी हिमाल हस्पिटलले निःशुल्क उपचार गरी सकुशल डिस्चार्ज गरेको छ । असोज ९ गते कान्ति रामलाई प्रसव पीडा भएपछि सुरुमा स्थानीय अस्पतालमा लगिएको थियो । त्यहाँबाट उपचार सम्भव नभएपछि वीरगञ्जको नेशनल मेडिकल कलेज रेफर गरिएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि साउथ सिटी हिमाल हस्पिटलमा भर्ना गरिएको थियो । अस्पतालमा सामान्य प्रसव (नर्मल डेलिभरी) भए पनि नवजात शिशुले मल (दिसा) खाएका कारण श्वासप्रश्वासमा समस्या देखिएको थियो । अस्पतालले तत्काल शिशुलाई एनआईसीयूमा राखेर विशेष निगरानीमा उपचार सुरु गरेको थियो । परिवारले आर्थिक कमजोरीका कारण १० दिनपछि थप उपचार गराउन नसक्ने भन्दै डिस्चार्जको आग्रह गरेका थिए । तर, शिशुको स्वास्थ्य अवस्था गम्भीर रहेको र थप उपचार आवश्यक रहेको भन्दै अस्पतालले पूर्ण रूपमा निःशुल्क उपचार गरेको थियो । “हाम्रो परिवार आर्थिक रूपले कमजोर छ । बच्चाको उपचारका लागि हामीसँग पर्याप्त स्रोत थिएन । १० दिनपछि हामी थप उपचार गराउन सक्ने अवस्थामा थिएनौँ । अस्पतालले हाम्रो अवस्था बुझेर पूर्ण निःशुल्क उपचार गरेकोमा हामी अत्यन्त कृतज्ञ छौँ । यो सेवा हाम्रो जीवनको लागि अमूल्य उपहार हो,” उनले भने । अस्पतालका व्यवस्थापक राकेश यादवका अनुसार, शिशुको उपचार बाल रोग विशेषज्ञ डा. सागर गुप्ता, डा. विकास साहलगायत स्वास्थ्यकर्मीको टोलीले गरेको थियो । “हामीले मानवीयताको आधारमा शिशुको सम्पूर्ण उपचार निःशुल्क गरेका हौँ । आज शिशु पूर्ण रूपमा स्वस्थ भएर डिस्चार्ज भएको छ,” यादवले बताए । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम कुमार सर्राफले पनि अस्पतालको प्रशंसा गरेका छन् । उनले भने, “साउथ सिटी हिमाल हस्पिटलको उदाहरणीय कार्यले समुदायमा स्वास्थ्य सेवाको महत्त्व झल्काउँछ । आर्थिक रूपले विपन्न परिवारका लागि यस्ता सेवाहरूले जीवन बचाउन मद्दत गर्छन् । हामी सामुदायिक प्रहरी सेवाका रूपमा यस्ता संस्थाहरूलाई सहयोग गर्न तयार छौँ र यो प्रयासलाई प्रोत्साहन दिन्छौँ,’ उनले भने ।

घटनाले साउथ सिटी हिमाल हस्पिटलको सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता झल्काएको छ ।