
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपालका निरीक्षक र एक जवानविरुद्ध घुस प्रकरणमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिका–५, मझगाँवस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र जवान यामबहादुर खत्रीविरुद्ध शुक्रबार भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो । सिमापारि भारतबाट भन्सार छली कपडा र किराना सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ । अनुसन्धानका क्रममा जवान खत्री र उनका वरिष्ठ निरीक्षक ढकालबीच आपसी मिलेमतोमा घुस लिएको प्रमाणित भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतको दुर्गौलिया नाका हुँदै नेपालमा सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग मागिएको रु.१५ हजार घुस रकम प्रतिवादीहरू ढकाल र खत्रीको पूर्वयोजनाअनुसार खत्रीले लिएको तथ्य प्रमाणित भएको छ ।’ आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको थियो ।आयोगले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ग) को उपदफा (१०) बमोजिमको कसुरमा बिगो बराबर १५ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको छ ।



