
वीरगञ्ज । वीरगञ्ज विकास युवा संघर्ष समितिको आयोजनामा वीरगञ्जको मुख्य सडक विस्तार (चौडा गर्ने) माग गर्दै सुरु गरिएको चरणबद्ध आन्दोलन अन्तर्गत हस्ताक्षर अभियान आज दोस्रो दिनमा पुगेको छ। वीरगञ्जको केन्द्र घण्टाघरमा आयोजित हस्ताक्षर अभियानमा आज पनि उल्लेख्य संख्यामा विकासप्रेमी नागरिकहरूको उपस्थिति रहेको समितिले जनाएको छ। कार्यक्रममा सहभागीहरूले वीरगञ्जको ट्राफिक चाप, अव्यवस्थित पार्किङ र सवारी व्यवस्थापनको समस्या समाधानका लागि मुख्य सडक विस्तार अपरिहार्य रहेको बताएका थिए। समितिले सडक विस्तारको माग पूरा नभएसम्म संघर्ष जारी रहने स्पष्ट पारेको छ। सोही सन्दर्भमा भोलि (आइतबार) बिहान ८ बजे घण्टाघरमै तेस्रो दिनको हस्ताक्षर अभियान सञ्चालन गरिने जानकारी दिइएको छ। वीरगञ्ज विकास युवा संघर्ष समितिले जारी विज्ञप्तिमा भोलिको कार्यक्रममा वीरगञ्जका सम्पूर्ण विकासप्रेमी, नागरिक समाज, व्यापारी, बुद्धिजीवी, विद्यार्थी तथा सम्पूर्ण स्थानीयलाई अनिवार्य रूपमा उपस्थित भई अभियानलाई सशक्त समर्थन गर्न आग्रह गरेको छ। समितिका अनुसार वीरगञ्जको शहरी पूर्वाधार विकास, व्यवस्थित यातायात, आर्थिक गतिविधिको प्रवाह र जनजीवनको सहजता सुनिश्चित गर्न मुख्य सडक विस्तार आवश्यक र यथासम्भव चाँडो कार्यान्वयन हुनुपर्नेछ।



