वीरगञ्जमा एनप्याब्सन नगर समिति पदस्थापन तथा विधागत प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) पर्सा, वीरगञ्ज महानगरपालिका नगर समितिद्वारा आयोजित पदस्थापन तथा हस्तलेखन, चित्रकला र निबन्ध लेखन प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गत २०८१ सालको चैत ११ गते सम्पन्न नगर अधिवेशनपछि नवगठित नगर समितिका पदाधिकारीहरूलाई औपचारिक रुपमा प्रमाणपत्र प्रदान गर्दै पदस्थापन गरिएको हो। नवगठित नगर समितिमा सोनालाल पटेल अध्यक्ष चयन भएका छन्। त्यस्तै, सन्तोष साह पटेल उपाध्यक्ष, गोबिन्द कुमार साह सचिव, श्रीराम गिरी कोषाध्यक्ष र उतम कुमार चौरसिया, सरोज यादव, श्रीराम दास, किशन गौतम लगायत सदस्य पदमा चयन भएका छन्। कार्यक्रम एनप्याब्सन पर्साका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। शुभकामना मन्तव्य जिल्ला सल्लाहकार लालबहादुर गुरुङले व्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष डा. नन्दन यादवको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा केन्द्रीय सचिव इन्द्रदेव साह सहभागी थिए। कार्यक्रमको सञ्चालन प्रमोद रायमाझीले गरेका थिए। कार्यक्रममा पर्सा जिल्लाका १५ वटा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। हस्तलेखन, चित्रकला र निबन्ध लेखनजस्ता विभिन्न विधागत प्रतिस्पर्धामा सहभागी भई विजयी हुने विद्यार्थीहरूलाई प्रमुख अतिथि र विशिष्ट अतिथिद्वारा प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरेर सम्मानित गरिएको थियो। आयोजक समितिका अनुसार, कार्यक्रमले वीरगञ्ज महानगर क्षेत्रमा रहेका निजी तथा आवासीय विद्यालयहरूबीच आपसी समन्वय, रचनात्मकता अभिवृद्धि तथा नेतृत्व विकासमा सकारात्मक सन्देश दिएको छ। कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।