
बारा । बारा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुको साथै चार जनालाई शनिबार नियन्त्रणमा लिएको छ। प्रहरीले एक पिक अप गाडीलाई समेत नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा अनुसार प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप गाडी तथा त्यस्मा सवार चार जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले लागु औषध गाँजा जस्तो देखिने पदार्थ २१२ किलो ९२८ ग्राम वरामद गरेको छ। उक्त गाडीमा सवार मकवानपुरको थाहा नगरपालिका वडा नं. ४ तालुङ बस्ने पिकअप गाडीको चालक २८ वर्षीय रबि कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। थाहा नगरपालिकाको वडा नं.१२ टिसटुङ बस्ने ४६ वर्षीय बिर बहादुर गोले,मकबानपुरको हेटौडा नगरपालिका वडा नं. १४ बस्ने उतरपानीका २३ वर्षीय साजन मुक्तान,धादिङ जिल्लाको थाक्रे गाँउपालिका वडा नं. ७ आपसी चौक ३१ वर्षीय महेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। हेटौडाबाट प्रसौनी गण्डक तर्फ लागु औषध गाँजा जस्तो देखिने पदार्थ आई रहेको छ भन्ने बिशेष सुचनाको अधारमा प्रहरीले जाँच गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले जाँच गरेको हो। बाराको परवानिपुर गाँउपालिका वडा नं. ५ बहुअरी स्थित गण्डक नहरको सडक खण्डमा चेक प्वाईन्ट थापी सवारी साधन तथा पैदल यात्री समेतलाई जाँच गरिएको हो। हेटौडाबाट प्रसौनी गण्डक तर्फ आउदै गरेको सो पिकअप गाडीलाई प्रहरीले जाँच गरेको हो। उक्त पिकअप गाडीमा धानको भुष भित्र लुकाई छिपाई लगि रहेको लागु औषध गाँजा जस्तो देखिने पदार्थ २१२ किलो ९२८ ग्राम वरामद भएको हो। उक्त नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।



