बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

स्याङ्जा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका ७३ वर्षीय कृष्णप्रसाद अर्याल र ६७ वर्षीया राधा अर्याल दम्पतीको कुशको शव बनाएर हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । रसुवाको गोसाइँकुण्ड दर्शनका लागि जाने क्रममा भदौ १० गते उनीहरू सवार सवारीसाधन भोटेकोशीको बाढीमा परेको थियो । त्यसपछि दम्पती सम्पर्कविहीन भएका थिए । परिवार र आफन्तले घटनास्थलदेखि मृतकको शव राखिएको अस्पतालसम्म खोजी गरे पनि कुनै जानकारी नपाएपछि जीवित नरहेको निष्कर्ष निकाल्दै अन्तिम संस्कार गरिएको हो । दम्पतीका छोरा प्रकाश अर्याल नुवाकोटको बट्टारस्थित गरिमा विकास बैंकमा कार्यरत छन् । भदौ १० गते बिहान करिब ६ बजे काठमाडौंस्थित घरबाट गाडीमा निस्किएका कृष्ण र राधा बट्टार पुगेर छोरा प्रकाशसँग भेटेका थिए । प्रकाशले बिहान ८:४५ बजे उनीहरूलाई गोसाइँकुण्डतर्फ बिदाइ गरेका थिए । बिदाइ गरेको करिब आधा घण्टामै भोटेकोशीमा बाढी आएको र त्यसपछि आमाबुवासँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ । बाढी आएलगत्तै उनीहरू सवार गाडीसमेत बेपत्ता भएको जानकारी प्रहरीलाई गराइएको थियो । मोबाइल ट्र्याक गर्दा उनीहरूको अन्तिम लोकेसन टुकुचे देखिए पनि गाडी र दम्पती दुवैको अवस्था पत्ता लाग्न सकेन । आठौं दिनसम्म पनि कुनै खबर नआएपछि हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा कुशको पार्थिव शरीर बनाएर दम्पतीको बिहीबार अन्त्येष्टि गरिएको भाइका छोरा युवराज अर्यालले बताए । अन्त्येष्टिपछि परिवार काजकिरियामा जुटेको छ । अर्याल दम्पतीका दुई छोरा छन् । एक छोरा विदेशमा छन् भने अर्का काठमाडौंमा बस्दै आएका छन् । केही वर्षयता कृष्ण र राधा छोराबुहारीसँगै काठमाडौंमा बस्दै आएका थिए । बाढीपछि लामो समयसम्म आफन्तले उनीहरू जीवितै भेटिने आशा राख्दै खोजी जारी राखेका थिए । तर कुनै संकेत नपाएपछि परिवारले बाध्य भएर धार्मिक संस्कार पूरा गर्दै अन्तिम बिदाइ गरेको हो ।