
रसुवा (उत्तरगया) । भोटेकोशीको बाढीले रसुवा, नुवाकोटका हजारौंका आफन्त बगायो, बेघर बनायो । तर कतिपय परिवारको वियोग यतिमै टुँगिदैन । उनीहरू हराउँदा आफन्त मानिस त परको कुरा भयो, अन्तिम संस्कार गर्ने समेत रहेनन् । त्यस्तै मध्येकी एक उदाहरण हुन्- ममता श्रेष्ठ र उनको परिवार । उनी नीलकण्ठ आधारभूत विद्यालयका विद्यालयकी नर्स थिइन् । १० भदौको बाढीले ममताको परिवारलाई नै बगायो ।ति, सासू–ससुरा, दुई सन्तानसँगै ममता बाढीमा परिन् । पति महेश घाइते थिए । तर, अस्पतालमा उपचारकै क्रममा निधन भयो ।
‘नानीहरूलाई माया गर्ने मान्छे’
ममता नीलकण्ठमा चार वर्षदेखि कार्यरत थिइन् । विद्यालयका प्राधानाध्यापक माधव लामिछानेका अनुसार ममता बालबालिकासँग छिट्टै घुलमिल हुन्थिन् ।कक्षा खाली हुनेबित्तिकै उनी विद्यार्थीहरू कहाँ पुग्थिन् । कहिले सरुवा रोगबारे सम्झाउँथिन्, कहिले हातमुख धुने र सरसफाइ गर्ने तरिका सिकाउँथिन् । साना कक्षाका बालबालिकालाई समय मिल्नेबित्तिकै आफैं खोज्दै पुगेर स्वास्थ्य र सरसफाइका कुरा सिकाउनु उनको काम थियो । नर्सरी र केजीका बच्चाहरू देखेपछि उनीहरूमाझ पुग्थिन् । हात धुन सिकाउँथिन् । सफा बस्न सिकाउँथिन् । स्वास्थ्यका सामान्य कुराहरू खेल्दै, हाँस्दै बुझाउँथिन् । प्रधानाध्यापक लामिछानेका शब्दमा ममता विद्यालयका लागि ‘डेडिकेटेड’ कर्मचारी थिइन् । ‘समयमा विद्यालय आउने, विद्यार्थीलाई माया गर्ने,’ लामिछाने सम्झन्छन्, ‘क्लास खाली भयो कि स्वास्थ्य सम्बन्धी सचेतना जगाउन पुगिहाल्नुहुन्थ्यो ।’



