
सुर्खेत । जाजरकोटमा सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दा पनि करोडौं रुपैयाँका आयोजना अलपत्र छन् । एउटै निर्माण कम्पनीले विभिन्न महत्वपूर्ण आयोजना ठेक्का लिए पनि कतिपयमा न्यून प्रगति र कतिपयमा निर्माणको काम नै सुरु नभएको पाइएको छ । यसको प्रत्यक्ष मार भने स्थानीय नागरिक र यात्रुले खेपिरहेका छन् । पूर्वाधार विकास कार्यालय जाजरकोटमार्फत सम्झौता भएका चार आयोजनामध्ये अमर सिस्ने जेभीले तीनवटा आयोजनाको ठेक्का लिएको छ । तीमध्ये एउटाको प्रगति ७५ प्रतिशत भए पनि अर्कोमा ३ प्रतिशत र अर्कोमा शून्य छ । साल्मा खोलाको पुलको ठेक्का भने मेघा सिस्ने जेभीले लिएको हो ।
चार वर्षदेखि साल्मा खोलाको पुल अधुरो
छेडाचाँदे–जुम्ला सडकखण्डअन्तर्गत छेडागाड नगरपालिका–१ र ४ जोड्ने साल्मा खोला (खारा) पुल चार वर्षभन्दा लामो समयदेखि अधुरो छ । मेघा सिस्ने जेभी, नेपालगन्ज–२ बाँकेसँग २०७८ असोज २९ गते सम्झौता भएको पुलको निर्माण २०८० माघ २८ गतेभित्र सम्पन्न हुनुपर्ने थियो । ४ करोड ८८ लाख १५ हजार १८ रुपैयाँमा सम्झौता भएको आयोजनाको भौतिक प्रगति करिब ३० प्रतिशत मात्रै छ । निर्माण व्यवसायीले हालसम्म १ करोड ४१ लाख ४२ हजार ३६८ रुपैयाँ भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ ।



