वीरगञ्जका तीन वडामा चार वर्षदेखि जमेको पानी निकास खुलाइयो

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ मा चार वर्षदेखि अवरुद्ध रहेको पानी निकास खुलाइएको छ । महानगरपालिकाले डोजर प्रयोग गरी नाला निर्माण तथा सफाइ गरेर पानीको निकास खुलाएको हो । पानीको सहज निकास नहुँदा वर्षायाममा वडा नम्बर १७, २५ र २६ को सुगौली, अलौलगायत आसपासका बस्ती तथा ठूलो क्षेत्र डुबानमा पर्दै आएको थियो । लामो समयसम्म पानी जमिरहँदा स्थानीयलाई आवतजावतमा समस्या हुनुका साथै खेतीपातीसमेत प्रभावित हुँदै आएको थियो ।  यस्तै, बस्ती तथा आसपासका क्षेत्रमा लामो समय पानी जम्दा लामखुट्टेको प्रकोप बढ्ने, दुर्गन्ध फैलिने तथा स्वास्थ्यसम्बन्धी समस्या निम्तिने गरेको स्थानीयको गुनासो थियो । लामो समयदेखि अवरुद्ध पानी निकास खुलाउन थालिएपछि सुगौली, अलौलगायत आसपासका क्षेत्रका स्थानीयवासीले वर्षायाममा हुने जलजमावको समस्या कम हुने अपेक्षा गरेका छन् । महानगरपालिकाका अनुसार अवरुद्ध पानी निकासलाई पूर्ण रूपमा खुलाएर पानीको सहज निकास गराउने काम भएको छ ।