लन्डन नेपाली मेला बाढी पीडितका लागि समर्पित

लन्डन । नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए ।तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र संकलितबाहेक संस्थाले थपेर छिट्टै नेपाल पठाउने जनाएको छ । १७ औं नेपाली मेलामा ४२ नेपाली संघसंस्थाले विभिन्न जातजातीका मौलिक कला संस्कृति, भेषभूषा, परम्परा, रहनसहन झल्कने झाँकी प्रस्तुत गरे । तीमध्ये ११ संघसंस्थाले झाँकी प्रतिस्पर्धामा भाग लिए ।त्यस्तै, २१ संघसंस्थाले नृत्यमा भाग लिए, जसमा १३ संस्था प्रतिस्पर्धी थिए । लाखे, मारुनी, ट्होंटे लगायत मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिले दर्शकको मन जितेको थियो ।मेलामा खाना तथा अन्य व्यापारिक र च्यारिटीका ७५ स्टल एवं हेल्थ क्याम्प समेत राखिएको थियो । मेलामा बोल्दै बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली कला संस्कृति, संस्कार, परम्परा जगेर्नाका लागि तमुधिं यूकेले वर्षेनी मेला आयोजना गरेकोप्रति प्रशंसा गरे । उनले यस खालको प्रयासबाट पुस्तान्तरणमा ठूलो मद्दत पुग्ने पनि बताए । कार्यवाहक राजदूत दुवाडीले नेपालमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकामा दुःख व्यक्त गर्दै पीडितलाई राहत र पुनस्र्थापनामा सघाउन बेलायतवासी सबै नेपालीलाई अपिल गरे । विशेष अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सांसद एवं पूर्वउपसभामुख इन्दिरा राना मगरले नेपाली मेला अवलोकनपछि यूकेमा सानो नेपाल रहेको महसुस भएको बताइन् । नेपालमा बस्ने नेपालीले बिर्सिसकेको कला संस्कृति र सभ्यतालाई बेलायतका नेपालीले जोगाएको भन्दै रानामगरले धन्यवाद समेत दिइन् । तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले सबैप्रति आभार व्यक्त गर्दै मेलाले नेपाली कला, संस्कृति र सामाजिक सद्भाव प्रदर्शन गर्नुका साथै मानवीय सहयोगको अनुपम उदाहरणसमेत प्रस्तुत गरेको बताए । उनले नेपालमा विपत्ति पर्दा तमुधिं यूकेका सदस्यले विगतमा देखाएको माया र सद्भावको प्रशंसा गर्दै यसपटक पनि सहयोगको अपेक्षा व्यक्त गरे । मेला संयोजक उपाध्यक्ष कमल कोने गुरुङले देश विपत्तिमा परेका बेला मेलामा आएर बाढी पीडितलाई सहयोग गर्ने उत्साह देखाएकामा सबैप्रति आभार व्यक्त गरे ।