सुस्तामा बाँध भत्किँदा २० बिघाको बाली क्षति, थारू टोल जोखिममा

काठमाडौं ।  सुस्ताका थारूटोलनिवासी ४४ वर्षीय जोगिन्दर थारूको लागि आयस्ताको एक मात्र स्रोत थियो- उखुबाली । उखु खेती गरेर उनले आफ्नो दैनिक गर्जो मात्र टार्दैन थिए । त्यसबाहेकका सबै कुराहरूको प्रबन्ध उखुखेतीले नै थेगेको थियो । तर देशलाई नै आक्रान्त तुल्याएको बाढीपहिरोले सीमावर्ती क्षेत्र सुस्तासम्म क्षति गर्‍यो । केही अघिसम्म शान्त बगिरहेको सुस्ताले आफ्नो रूप फेर्‍यो । र, सुस्तामा बनाईएको बाँध भत्कियो । बाँध भत्किएपछि २० बिघा जमिनमा लगाईएको उखुबाली र धानमा क्षति पुगेको छ । यो कटान अझै तीव्र हुँदै जाने स्थानीयहरू बताउँछन् । जोगिन्दरले आफ्नो १५ विघा खेतमा लगाएको उखुबली यही कटानमा मिसिन पुग्यो । पानी र लेदोको सतहमुनि आफ्ना समग्र आर्जन पुरिएपछि उनको आयस्ताको स्रोत नै रितिएको उनले सनुाए । नारायणी नदीको यो विकराल स्वरूपमा जोगिन्दर मात्र हैन, अन्य सुस्तावासीहरू पनि परेका छन् । तर, १५ कठ्ठाको विशाल क्षेत्रफलमा फैलिएको उनको बाली मासिँदा सबैभन्दा बढी क्षति उनलाई परेको छ । बाँध भत्किएलगत्तै नदीको पानी सुस्ता बस्ती र आसपासका कृषि क्षेत्रमा सोझै प्रवेश गरेको छ। नदीले तीव्र रूपमा जमिन कटान गरिरहेकाले खेतीयोग्य जमिन मासिने क्रम रोकिएको छैन ।