नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेलधुरा कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस डडेलधुराले केन्द्रीय सदस्य नैनसिंह महरलाई १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ ।प्रदेशसभा ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले नेता महरलाई केन्द्रीय महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो ।डडेलधुरा कांग्रेसले अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महरको पक्षमा उभिन पनि अपिल गरेको छ । अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ ।संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार कांग्रेसलाई नयाँ सोच, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कारसहित अघि बढाउनुपर्ने आवश्यकतासमेत अपिलमा औंल्याइएको छ । ‘नैनसिंह महरको उम्मेदवारी कुनै व्यक्ति वा समूहको पक्षमा मात्र होइन, कांग्रेसको संगठनात्मक रूपान्तरण, ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण र राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणको प्रस्ताव हो,’ निर्णयमा भनिएको छ ।