जनकपुरमा अतिक्रमित सातवटा पोखरीको डिलमा डोजर चल्यो, ६५ घरटहरा भत्काइयो

जनकपुरधाम । जनकपुरमा पहिलो दिन सातवटा सार्वजनिक पोखरी अतिक्रमणमुक्त गरिएको छ । शनिबार गिरनारी (गोरधोइ) पोखरी, दिर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउको अतिक्रमण डोजर प्रयोग गरेर खाली गराइको हो । सो क्रममा अतिक्रमण गरेर बनाइएका ६५ वटा घरटहरा भत्काइएको गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताए । साउन १ गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिएको थियो । अतिक्रमण खाली गराउन डोजरको साथै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । पोखरेलका अनुसार अब अर्को चरणमा अतिक्रमणमुक्त गरिने पोखरीको रेखांकन गरिने त्यसपछि योजना बनाएर खाली गराइने छ । पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गराइने समितिको लक्ष्य छ । पहिलो चरणमा पोखरी, मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमणमुक्त गराउने कार्ययोजनासहित वर्गीकरण गरिएको छ । अतिक्रमणमुक्त गर्दा २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको छ ।