
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने इमाडोल क्षेत्रमा करिब १५ मिटर सडक भासिएको छ । सडक किनारसँगै जोडिएका व्यापारिक स्टलहरुमा समेत क्षति पुगेको छ । करिब २८ महिनादेखि ‘सर्लाही फर्निचर एण्ड फल्स सिलिङ’ पसल सञ्चालन गर्दै आएका मिथिलेश साहले आफ्नो मात्रै करिब डेढ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको बताए । उनका अनुसार केही दिनअघिदेखि नै सडक किनारमा चिरा देखिएर भत्किन सुरु गरेको थियो । तर हिजो झन् धेरै भत्किएको उनले बताए । ‘सडक किनारमा अँस्तिदेखि नै समस्या थियो । हिजो त लगभग १५ मिटर जति सडक भत्कियो,’ उनले भने, ‘पाँचवटा पसल भएको ट्रस नै क्षतिग्रस्त भयो ।’उनले यसबारे महालक्ष्मी नगरपालिकालाई जानकारी गराइएको र मर्मतको आश्वासन पाएको जानकारी दिए । सडक भत्किएको स्थान साविकको इमाडोल गाविसको तीन नम्बर वडा कार्यालयको मन्दिर नजिकै पर्दछ ।



