रौतहटमा पोखरीमा हामफालेका भारतीय नागरिकको शव फेला

रौतहट। रौतहटको इशनाथ नगरपालिकाको एक पोखरीमा हामफालेका युवकको शव फेला परेको छ । इशनाथ नगरपालिका- ४ ठूलो लतममरी स्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा मंगलबार राति एक पुरुष हामफाल्दा बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार राति साढे ९ बजेको समयमा पोखरीमा एक व्यक्ति हामफालेको सूचना आएपछि प्रहरीले राति नै उनको खोजतलास समेत गरेको थियो । अन्दाजी २५–३० वर्षीय पुरुष पोखरीमा हामफालेको भन्ने सूचना आएपछि हिजो नै मठिया प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजतलास सुरु गरेको थियो,’ रौतहटका प्रहरी नायव उपरीक्षक बसन्त गौतमले भने, ‘आज बिहान करिब पौने १० बजे खोजीका क्रममा सोही पोखरीबाट युवकको शव फेला परेको छ ।’ मृतक युवक भारतीय नागरिक रहेको उनले बताए । मृतकका दाजु जहिर अहमदले शवको सनाखत गर्दै मृतक भारतको बिहार राज्य, मोतिहारी जिल्ला, ढाका ग्राम पञ्चायत-३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिर रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको गौतलले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।