भारतमा आलोचना खेपिरहेका सूर्यकान्तको निम्तोमा प्रधानन्यायाधीशको दिल्ली भ्रमण

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारतका प्रधानन्यायाधीश सूर्यकान्तको निम्तोमा पाँच दिने भारत भ्रमणमा गएका छन् । बिहीबार भारत प्रस्थान गरेको प्रधानन्यायाधीश शर्मा सहितको टोली सोमबार नेपाल फर्कनेछ । सर्वोच्च अदालतका अनुसार, त्यसक्रममा प्रधानन्यायाधीश डा. शर्माले भारतको सर्वोच्च अदालतको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ । तर प्रधानन्यायाधीश डा. शर्माका लागि तय भएको भारत भ्रमणको समय भने उनका लागि अनुकूलको देखिँदैन ।उनलाई निमन्त्रणा गर्ने भारतका प्रधानन्यायाधीश सूर्यकान्तको अभिव्यक्तिको प्रतिक्रियास्वरुप स्थापना भएको दल क्रकोच जनता पार्टीको आह्वानमा केही दिनदेखि भइरहेको प्रदर्शनले भारतको सत्ता राजनीति समेत नराम्ररी हल्लिएको छ । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले करिब साढे दुई महिनाअघि एउटा सुनुवाईका दौरान सरकारको आलोचना गर्ने बेरोजगार युवाहरुलाई कक्रोच(साङ्ला) र परजिवी भन्दै आलोचना गरेका थिए । आफ्नो अभिव्यक्तिको चर्को आलोचना भएपछि प्रधानन्यायाधीश सूर्यकान्तले सार्वजनिक रुपमा क्षमा माग्दै भारतीय आम युवा नभई झुटा शैक्षिक उपाधीबाट कानून व्यवसायमा प्रवेश गरेकाहरुलाई व्यंग्य गरेर त्यो शब्द बोलेको अभिव्यक्ति दिएका थिए । तर उनको त्यो त्रुटी सच्याई निकै ढिलाई भइसकेको थियो, त्यही अभिव्यक्तिको प्रतिक्रियामा ३० वर्षिय अभिजित दिपकेको नेतृत्वमा ‘कक्रोच जनता पार्टी’ स्थापना भएको हो । जसले दिल्लीका केही महत्वपूर्ण ठाँउमा प्रदर्शनको आह्वान गरिरहेको छ । केही दिन अघिमात्रै वरिष्ठ कानूनविद्हरुले दिल्लीमा भइरहेको प्रदर्शन र त्यसक्रममा भएको ज्यादतीवारे याचिका(निवेदन) दर्ता गर्न खोजेका थिए । त्यसलाई ठाडै अस्विकार गर्दै प्रधानन्यायाधीश सूर्यकान्तले ‘न्यायाधीश र कानून व्यवसायीहरुको महत्वपूर्ण समय बर्बाद नगर्न’ सुझाव दिएका थिए । उनले निवेदन दर्ताको प्रयास अस्विकार गर्दै ‘मेरो र तपाईहरुको महत्वपूर्ण समय बर्बाद नगर्नुहोस्’ भनी अभिव्यक्ति दिएका थिए । त्यसक्रममा कानून व्यवसायीहरुले बर्बर दमनको भिडियो हेर्न आग्रह गर्दा प्रधानन्यायाधीश सूर्यकान्तले त्यसमा आफ्नो कुनै रुची नभएको भनी अस्विकार गरेका थिए । न्यायको मन्दिरको सबैभन्दा उच्च आसनमा बसेका व्यक्ति सत्ताको सामू त्रसित भएको भनी सूर्यकान्तको आलोचना भइरहेको हो । मानव अधिकारकर्मी समेत रहेका वरिष्ठ अधिवक्ता बाबुराम गिरी दुई मुलुकको न्यायालयका प्रमुखविच अनुभव आदानप्रदान र शिष्टाचारका लागि भ्रमण हुनुलाई स्वभाविक मान्नुपर्ने बताउछन् । अर्का अधिवक्ता इन्द्र अर्यालका अनुसार, यस्तो भ्रमण व्यक्तिगत भन्दापनि संस्थागत प्रकृतिको हुन्छ । उनी भन्छन्, ‘व्यक्तिगत भन्दा संस्थागत निमन्त्रणमा भ्रमण हुन लागेकाले त्यहाँको विकसित घटनाक्रम र विषयबस्तुलाई यहाँ जोड्न आवश्यक हुँदैन ।’