गाँजा तस्करी प्रकरण : प्रहरीलाई देखेपछि पाेखरीमा हाम्फालेका युवककाे शव भेटियाे

विराटनगर । विराटनगर महानगरपालिका–१८ भेडियारीमा प्रहरीलाई देखेपछि पाेखरीमा हाम्फालेका युवककाे शव फेला परेकाे छ बुधबार बिहान विराटनगरकाे सीमावर्ती क्षेत्र भेडियारीमा गाँजा तस्करकाे समूहलाई पक्राउ गर्न गएकाे प्रहरीलाई देखेपछि स्थानीय १७ वर्षीय मञ्जितकुमार यादवले पाेखरीमा हाम्फालेका थिए । माेटरसाइकल छाडेर पाेखरीमा हाम्फालेका युवककाे शुक्रबार बिहान शव फेला परेकाे मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । उनीसँगै भारतीय नम्बर प्लेटकाे बीआर ५० एएल ३६८७को मोटरसाइकलमा सवार रहेका भारतीय नागरिक ४१ वर्षीय शिवधर यादवलाई नियन्त्रणमा लिएकाे छ । उनकाे साथबाट प्रहरीले ६ किलो १२० ग्राम गाँजा बरामद गरेकाे छ । मोरङ प्रहरीका डीएसपी श्रेष्ठका अनुसार युवक बेपत्ता भएपछि नेपाल प्रहरी र सशसत्र प्रहरीकाे गाेताखाेरसहितकाे टाेलीले पाेखरीमा खाेजी गरेकाे थियाे । खाेजीकै क्रममा शुक्रबार बिहान पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा शव भेटिएकाे हाे । मञ्जितकाे शव भेटिएपछि स्थानीयले प्रहरीका कारण मृत्यु भएकाे भन्दै प्रदर्शन गरेका छन् ।