गणेश नेपालीका बुवा–आमा काठमाडौं आउँदै

 काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका आमा बुवा काठमाडौं आउँदैछन् । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका उनका बुवा आमा अहिले काठमाडौं आउनका लागि बाटोमा रहेका उनका दाजु मदन नेपालीले जानकारी दिए । नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यक्रम अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनको आज वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । अस्पतालले उनको  शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ । यद्यपि बुवा–आमा आएपछि मात्रै भाइको शवबारे बाँकी प्रक्रिया अघि बढाउने दाजु मदनले अनलाइनखबरलाई बताए ।‘बुवा आमा आउँदै हुनुहुन्छ, त्यसपछि मात्रै के गर्ने भन्ने हामी भन्छौं । अहिले केही भन्ने अवस्थामा छैनौं,’ मदनले भने । वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार, उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टका लागि पठाउनका लागि समन्वय भइरहेको छ । आफन्तहरूले भने अहिलेसम्म शव बुझेका छैनन् । नेपालीको मृत्यु भएपछि काठमाडौंको माइतीघर, भद्रकाली र वीर अस्पताल अगाडि प्रदर्शन पनि भइरहेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा पनि उनको मृत्युबारे सांसदहरूले प्रश्न उठाइरहेका छन् ।