
विराटनगर । झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिस दिएको आरोपमा मोरङको रंगेली नगरपालिकाका दुई जनप्रतिनिधि पक्राउ परेका छन् ।अंगीकृत नागरिकताका लागि झुटो विवरणका आधारमा सिफारिस गरेको आरोपमा बिहीबार रंगेली नगरपालिका – ५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका सदस्य ४६ वर्षीय गणेश ऋषिदेव पक्राउ परेका हुन् ।प्रहरीका अनुसार, मनुवाकुमार महतो नाम गरेका एक व्यक्तिले अधनुनिया महतोलाई आफ्नो नक्कली आमा खडा गरी अंगीकृत नागरिकताका लागि आवेदन दिएका थिए । सो आवेदनका लागि आवश्यक पर्ने सर्जमिन मुचुल्का र सिफारिस वडाध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले उपलब्ध गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोरङ प्रहरीका सूचना अधिकारी एवं डीएसपी मकेन्द्रकुमार मिश्रले प्रशासनको निर्देशनका आधारमा जनप्रतिनिधिहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको उनले बताए । नक्कली आमा देखाएर नागरिकता लिन खोज्ने मनुवाकुमार महतो भने फरार छन् ।



