
काठमाडौं । नेपाली भाषाको प्रयोगमा एकरुपतामा ल्याउन सर्वमान्य शब्दकोश आवश्यक भएको विज्ञहरूले औंल्याएका छन् । काठमाडौंमा सम्पन्न ‘मानक नेपाली शब्दकोश किन र कस्तो’ शीर्षकको कार्यक्रमका सहभागीहरूले नेपाल प्रज्ञा प्रतिष्ठान लगायतले निकालेका शब्दकोश समेत मानक बन्न नसकेको बताए । हिमाल एसोसियसनद्वारा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लेखक भिक्टर प्रधानले प्रज्ञा प्रतिष्ठानले निकालेको शब्दकोशको दशौं संस्करणमा पनि पहिलो संस्करणकै गल्ती दोहोरिएको बताए । कुनै पनि शब्दकोश आफैमा राम्रो हुँदैन । क्रमिक सुधार नै हुनुपर्ने हो,’ प्रधानले भने, ‘हरेक पाँच वर्षमा नेतृत्व परिवर्तन हुँदा शब्दकोशको नयाँ सम्पादक नियुक्ति गरियो । जसले गर्दा क्रमिक सुधार हुन सकेन ।’



