
काठमाडौं । रास्वपा सांसद हरि पन्तले वीरगञ्जको हरि खेतान सामुदायिक क्याम्पसमा भएको झडपबारे छानबिन समिति गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामुदायिक क्याम्पसको मर्म अनुसार विधान लागू गरी पठनपाठन अघि बढाउन आग्रह पनि गरे । उनका अनुसार, ०३८ सालमा स्थापना भएको उक्त क्याम्पसमा करिब ४ हजार विद्यार्थी एवं डेढ सय प्राध्यापक कर्मचारी कार्यरत छन् । क्याम्पसमा भएको झडपका कारण अध्ययनरत हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले क्याम्पसको विधान संशोधन भएपछि निजीकरणतर्फ उन्मुख हुँदै गरेको बताउँदै दैनिकजसो झडप र जुलुस हुने गरेको उनले बताए । सोही क्याम्पसका प्रमुख नै दुर्व्यवहारको आरोपमा परेका कारण केही कर्मचारीहरू आजको दिनसम्म पनि प्रहरी हिरासतमा रहेको पनि उनले जानकारी गराए ।



