संकटमा आठपहरिया संस्कृति

धनकुटा । पूर्वी नेपालको अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्‍गम थलो मान्दै आएको एक सीमान्तकृत जाति हो आठपहरिया । आधुनिकता समयसँगै बदलिँदो समाज, यसको प्रभाव र राज्यको औपचारिक मान्यताबाट टाढा रहँदा आठपहरिया समुदाय आफ्नै पहिचान जोगाउन संघर्षरत छ । आफ्नै संस्कार-संस्कृतिका साथै आफ्नै भाषा र भेषभूषा रहेको आठपहरिया समुदायले आदिवासी जनजातिमा सूचीकृत हुनुपर्ने माग लामो समयदेखि गर्दै आएको छ ।

२०५८ सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत हुन पहल थालेको तर राज्यले नसुनेको किराँत आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाको गुनासो छ । ‘राज्यले आठपहरियाको छुट्टै पहिचानलाई अझै औपचारिक रूपमा स्वीकार नगर्दा सामाजिक, शैक्षिक तथा आर्थिक रूपमा पछि पर्नुपरेको छ’ उनी भन्छन् , ‘हाम्रो पहिचान अनुसारका सबै प्रमाणहरूका आधारमा हामी आठपहरिया नै हौँ । त्यसैले नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने हाम्रो माग छ ।’ सूर्यका अनुसार आठपहरिया समुदायको आफ्नै भाषा, भेषभूषा, संस्कार, संस्कृति, परम्परा र सामाजिक संरचना छ । तर राज्यले छुट्टै समुदायका रुपमा नचिनेकाले आठपहरियाको अस्तित्व नै ओझेलमा परेको उनी बताउँछन् ।