
जनकपुरधाम । वर्षौँदेखि मधेश प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमण मुक्त गरिएको छ ।मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामका अनुसार थप अतिक्रमित वनक्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेका छन् ।निर्देशनालयबाट प्राप्त विवरणअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा १७५ हेक्टर, सप्तरीमा १११ हेक्टर , बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौटहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वनक्षेत्रको जमिन फिर्ता लिइएको छ । अतिक्रमित वनक्षेत्रमा खेतीपाती, गोठनिर्माण, होटल तथा पसल सञ्चालन, घरसमेत निर्माणगरी बसोबास भइरहेको थियो । निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालले मधेस प्रदेशको आठवटै जिल्लाबाट अहिले पनि १६ हजार ५९९ हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए ।



