प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति नजाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले बक्तव्य जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिले आत्मघाती काम गरेको जनाएको छ । ‘नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य, अकाट्य प्रमाण र आम नेपालीको राष्ट्रिय भावना विपरीत प्रधानमन्त्रीद्वारा व्यक्त गरिएका सीमा सम्बन्धी गन्तव्यहीन विचारहरु नेपाली कांग्रेसलाई कदापि स्वीकार्य छैन,’ वक्तव्यमा भनिएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको दावीलाई कमजोर पारेको पनि कांग्रेसको निष्कर्ष छ । ‘.. कुटनीतिक माध्यमबाट लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य सीमाना सम्बन्धी विषय सम्बोधन गर्ने सहमतिमा गम्भीर आघात पुगेको छ र यसले नेपालको दाबीलाई स्वत: कमजोर बनाउने आत्मघाती काम गरेको छ,’ वक्तव्यमा लेखिएको छ । भारतसँगको सीमा विवादबारे बेलायतसँग कुरा भइरहेको छ भन्नु आपत्तिजनक रहेको पनि कांग्रेसको भनाइ छ । ‘सीमा समस्याबारे इंग्ल्याण्ड (बेलायत) सँग कुरा भइरहेको भनी दाबी गर्नु भएको विषय थप आपत्तिजनक र हास्यास्पद छ,’ कांग्रेसले भनेको छ । कांग्रेसले यसबारे रास्वपाको धारणा पनि मागेको छ ।