
काठमाडौं । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङले पोखराको रात्री क्लबमा युवामाथि आक्रमण गरेका छन् । घटना आइतबार रातिको हो । पोखराको लेकसाइडमा रहेको क्लब १६ मा सानुभाइ र उनको समूहले अर्को समूहका युवामाथि आक्रमण गरेका हुन् । सामान्य विवादमै सानुभाइ समूहले अर्को समूहमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । पीडित युवाले पोखरा प्रहरीमा उजुरी समेत दिएका छन् । आक्रमणपछि त्यहाँबाट निस्केको सानुभाइको समूह अहिलेसम्म फरार छ । काठमाडौंबाट पोखरा घुम्न पुगेको उनको समूहले आक्रमण गरी फरार भएपछि खोजी भइरहेको प्रहरीले बताएको छ । सानुभाइलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । सानुभाइ पटक पटक पक्राउ पर्दै आएका गुण्डा नाइके हुन् । उनलाई पछिल्लो पटक जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत २२ चैतमा सामाखुसी क्षेत्रबाट पक्राउ गरेको थियो । त्यतिबेला अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएका उनी छुटेका थिए । यसअघि पनि उनी पटक पटक पक्राउ गर्दै आएका व्यक्ति हुन् । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन भन्दै प्रहरीहरुले हतकडीसहित बजार घुमाएका थिए । त्यतिबेला काठमाडौंका एसएसपी दानबहादुर कार्की थिए । अहिले उनी आईजीपी छन् । पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो । प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिंड्न थालेका थिए । प्रहरी अधिकारीहरूका अनुसार २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्बर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो । उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए । २०७६ सालमा उनीविरुद्ध बैंकिङ कसुरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए । २०८० सालमा उनी पक्राउ परेका थिए ।



