आमाको सम्झनामा

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको बताइन्छ। यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज बिहानै मेला लागेको छ।