
काठमाडौं । अमेरिकी प्रशासनले एक शीर्ष नौसैनिक कमान्डरले भेनेजुएलाको लागूऔषध डुङ्गामाथि दोस्रो सैन्य आक्रमण गर्ने आदेश दिएको पुष्टि गरेको छ । यो डुङ्गामा लागूऔषधहरू रहेको अमेरिकी आरोप छ । सोमबार ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले एडमिरल फ्र्याङ्क ब्राडलीले यो अतिरिक्त आक्रमण आफ्नो अधिकार र कानूनको दायराभित्र रहेर गरेका बताइन् । उनले यसका लागि रक्षा मन्त्री पिट हेगसेथले आक्रमणका लागि अनुमति दिए पनि उनले ‘सबैलाई मारिदिनु‘ भन्ने कुनै आदेश नदिएका जिकिर गरिन् । अमेरिकी अखबार द वाशिंगटन पोस्टले रक्षामन्त्री हेगसेथले सबैलाई सफाया गर्न अनुमति दिएको जिकिर गर्दै समाचार प्रकाशन गरेको थियो । डुङ्गामा अमेरिकाले गरेको पहिलो विस्फोटमा दुई जना मानिस बचेका थिए र उनीहरू जलिरहेको डुङ्गामा थिए, त्यसपछि दोस्रो आक्रमण गरिएको थियो। यस घटनालाई लिएर रिपब्लिकन र डेमोक्रेट– दुवै दलका सांसदहरूले चिन्ता व्यक्त गरेका छन् र उनीहरूले कङ्ग्रेस स्तरमा यसको समीक्षा गरिने बताएका छन् ।



