
वीरगञ्ज । धनुषा जिल्लाको मैनाथपुर सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको बिहार राज्य, मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ मैनाथपुर सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चार राउण्ड गोली चलाएको छ । घटना रासायनिक मल नेपाल ल्याउने विषयमा भारतीय व्यापारी र एसएसबीबीच भएको विवादका कारण भएको हो । विवादका क्रममा स्थिति नियन्त्रण गर्न गोली चलाउँदा भारतीय व्यापारी भर्ता पासवानको दाहिने कम्मरमा दुई गोली लागेको छ । भारतीय व्यापारी लामोहन पासवानसँगको तनावपछि एसएसबीले चलाएको गोलीले भर्ता गम्भीर घाइते भएका छन् । घटनापछि नेपालको विदेह नगरपालिका–१ स्थित मैनाथपुर सीमा र भारततर्फको सीमा क्षेत्र पूर्ण रूपमा बन्द गरिएको छ । सशस्त्र प्रहरी मधेस प्रदेशको छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालका अनुसार दुवै देशबिचको आवतजावतमा पूर्ण रोक लगाइएको छ । स्थितिलाई नियन्त्रणमा राख्न सुरक्षा व्यवस्था कडा पर्नुका साथै सर्वसाधारणको आवागमनमा समेत प्रतिबन्ध लागू गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।



