वीरगञ्जमा समाजसेवी अजय गुप्ताद्वारा निःशुल्क पानी वितरण

वीरगञ्ज । पछिल्लो केही महिनादेखि वीरगञ्ज महानगरपालिका र आसपासका क्षेत्रमा चापाकल सुकेर खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको  छ । सङ्कटको घडीमा वीरगञ्ज महानगरपालिका – १० का वडाध्यक्ष पदका उम्मेदवार तथा समाजसेवी अजय कुमार गुप्ताले मानवीय पहल गर्दै निःशुल्क पानी वितरण सुरु गरेका छन् । गुप्ताले सखुवा प्रसौनी गाउँपालिकाबाट वारुण यन्त्र (दमकल) मार्फत पानी ल्याई ट्याङ्कीमा भरेर वडाभित्रका बासिन्दालाई वितरण गर्न थालेका छन् । पानीको अभाव हुन् नदिन उनी आफैँ घरघरमा पुगेर पानी वितरण गरिरहेका छन् । गुप्ताको पहलमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले दमकल उपलब्ध गराएर सहयोग गरेका छन् । समाजसेवी गुप्ताले खानेपानी सङ्कटले सर्वसाधारणलाई ठूलो समस्या परेको बताउँदै कार्य राजनीतिक लाभका लागि नभई मानवता र सेवाको भावनाले प्रेरित भएको उल्लेख गरे । उनले पानीको समस्या समाधान नहुन्जेल यो सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयवासीले गुप्ताको कदमलाई सकारात्मक र अनुकरणीय भन्दै प्रशंसा गरेका छन् । वीरगञ्जका विभिन्न वडामा पानी वितरणमा पक्षपात भएको गुनासो आइरहेका बेला गुप्ताको निष्पक्ष र नागरिक केन्द्रित पहल उल्लेखनीय मानिएको छ ।