वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजद्वारा आयोजित कार्यक्रममा १६९ जनाले गरे रक्तदान

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजले बुधवार आफ्नो प्राङ्गणमा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा २४ महिलासहित १६९ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय गर्मी बढेसँगै वीरगञ्जमा देखिएको रगतको अभावलाई पूर्ति गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी, विद्यार्थी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कलेजका संस्थापक निर्देशक मनिष सिंह र प्रमुख काजल सिंहले रक्तदान गरेर गरेका थिए ।  रक्तदान कार्यक्रमको मुख्य उद्देश्य रगतको अभावलाई पूर्ति गर्नुका साथै विद्यार्थीहरूमाझ रक्तदानप्रति जनचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै कलेजका संस्थापक निर्देशक मनिष सिंहले रक्तदानलाई सबैभन्दा ठूलो दानमध्ये एक भएको बताए । उनले भने, “विद्यार्थी उमेरदेखि नै रक्तदानको महत्वबारे जानकारी भएमा भविष्यमा उनीहरूले नियमित रूपमा रक्तदान गर्नेछन् । रक्तदानप्रति समाजमा रहेका भ्रमहरू चिर्न र विद्यार्थीहरूलाई प्रोत्साहित गर्न हामीले कार्यक्रम आयोजना गरेका हौँ ।” उनले रक्तदानले मानव जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै सबैलाई यस्ता कार्यमा सहभागी हुन आह्वान गरे । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र, वीरगञ्जको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रमले स्थानीय स्तरमा रगतको अभावलाई कम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेले नेशनल इन्फोटेक कलेजको पहलको प्रशंसा गर्दै रगतको अभाव पूर्ति गर्न सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले भने, “वीरगञ्जमा रगतको चरम अभाव भइरहेको अवस्थामा यस्ता कार्यक्रमले ठूलो राहत प्रदान गर्छ । हामी अन्य संघसंस्थाहरूलाई पनि यस्ता रक्तदान कार्यक्रम आयोजना गरी सहयोग गर्न अपिल गर्छौँ ।” कार्यक्रममा सहभागी वीरगञ्जस्थित मानवसेवा आश्रमका प्रमुख देवेश गुप्ताले नेशनल इन्फोटेकको सामाजिक कार्यको प्रशंसा गरे । उनले भने, “रगतको अभावले धेरैको ज्यान जोखिममा परिरहेको बेला कार्यक्रमबाट सङ्कलन भएको रगतले सयौँको ज्यान जोगाउन सहयोग पुग्नेछ । यस्तो मानवीय कार्यमा सहयोग गर्ने सबैप्रति हामी कृतज्ञ छौँ ।” नेशनल इन्फोटेक कलेजले विगतमा पनि सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ । केही दिनअघि मात्र कलेजले वीरगञ्जस्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयमा सञ्चालित विशेष विद्यालयका विद्यार्थीहरूका लागि कम्प्युटर र ल्यापटप सहयोग गरेको थियो । त्यस्तै, उक्त विद्यालयका विद्यार्थीहरूलाई पाठ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । नेशनल इन्फोटेक कलेजको रक्तदान कार्यक्रमले वीरगञ्जमा रगतको अभावलाई कम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । साथै, यसले विद्यार्थी र समुदायमा रक्तदानप्रति जनचेतना फैलाउन र सामाजिक उत्तरदायित्वको भावना जागृत गर्न समेत सहयोग गरेको छ । यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने र मानवीय सेवामा ठूलो योगदान दिने अपेक्षा गरिएको छ ।