
झापा । चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ । राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर चिनिन्छ । यो परिकार अचेल सबै समुदाय र उमेरका आमउपभोक्ताको रोजाइ बन्ने गरेको छ । मेचीनगर नगरपालिका–१५ की जागनी राजवंशी एक दशकदेखि घरबाट दुई किलोमिटर टाढा धुलाबारी मोडमा पुगेर दिनैपिच्छे बाफ उडिरहेको तात्तातो भक्का बेचिरहेका छन् । ‘हरेक दिन १० किलो पीठोको भक्का बेच्ने गरेको छु’, उनले भने, ‘घर परिवारको खर्च चलाउन मज्जाले पुगिरहेको छ ।’ हरेक बिहान ५ बजेतिर उनी भक्का बनाउने भाडाकुडा, चुल्हो, दाउराको बिटो र सालको पातको पोको लिएर घरबाट बजारसम्म धाउँछन् । उनले सालको हरियो पातमा दिने तातो भक्का चखिलो अचारसँग चोभेर खाँदा ग्राहकले स्वादिलो मान्ने गरेका छन् । चामलको पीठोलाई बाफमा पकाएर भक्का बनाउने गरिएको छ । उसिनेको खानेकुरा भएकाले यसमा चिल्लो र अन्य कुनै पनि मिसावट हुँदैन । चिया र अचारसँग यो परिकार खाने चलन छ ।


