
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । शरीरमा सुगर र अक्सिजनको मात्रा घट्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि इलामबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । इलाममा २५औँ आमरण अनशनमा रहेका केसीलाई सोमबार काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार उनको स्वास्थ्य परीक्षण र उपचार सुरु गरिएको छ । रोस्याराका अनुसार केसीको शरीरमा सुगरको मात्रा घटेको छ । त्यस्तै, श्वासप्रश्वासमा समस्या देखिएको छ । पेट दुख्ने र पिसाबमा संक्रमणसमेत देखिएको छ । ‘उहाँको सुगरको मात्रा घटेको छ । श्वासप्रश्वासमा समस्या छ । पेट दुख्ने र पिसाबमा पनि संक्रमण देखिएको छ,’ रोस्याराले अनलाइनखबरसँग भने । अस्पतालमा भर्ना भएपछि उनको उपचार सुरु गरिएको छ । उनलाई शिक्षण अस्पतालको ५०१ नम्बर क्याबिनमा राखेर उपचार भइरहेको छ ।



