वीरगञ्जको नेतृत्वमा इन्जिनियर गुप्ताको चर्चा

WhatsApp Unknown 2026-09-28 at 11.19.42 AM (1)

वीरगञ्ज, असोज ११ गते । वीरगञ्ज महानगरपालिकाको आगामी नेतृत्वलाई लिएर स्थानीयस्तरमा बहस चलिरहेका बेला विकास व्यवस्थापन तथा प्राविधिक क्षेत्रमा लामो अनुभव भएका इन्जिनियर मनोजकुमार गुप्ताको नाम चर्चामा आएको छ।
वीरगञ्जका बौद्धिक, प्राविधिक तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूले गुप्तालाई महानगरपालिकाको नगर प्रमुखका रूपमा अघि बढ्न आग्रह गरेका छन्। उनीहरूले वीरगञ्जको आर्थिक तथा औद्योगिक सम्भावनालाई योजनाबद्ध विकासमा रूपान्तरण गर्न प्राविधिक तथा विकास व्यवस्थापनको अनुभव भएका व्यक्तिको आवश्यकता रहेको बताएका छन्।
गुप्ताको विकास व्यवस्थापन, वातावरण, नवीकरणीय ऊर्जा, परियोजना सञ्चालन तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँगको सहकार्यको अनुभवलाई उनको सम्भावित नेतृत्वको आधारका रूपमा प्रस्तुत गरिएको छ।
वीरगञ्जका सडक, ढल, डुबान, फोहोर व्यवस्थापन, पार्किङ, यातायात, वातावरण, स्वास्थ्य, शिक्षा तथा सार्वजनिक सेवा प्रवाहका समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको गुप्ताले बताउँदै आउनुभएको छ। उहाँले महानगरको विकासलाई सडक र भवन निर्माणमा मात्र सीमित नगरी नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोड्नुपर्ने धारणा राख्नुभएको छ।
नेपाली कांग्रेस निकट श्याम पोखरेलले गुप्ताले राजनीतिक दलभन्दा कामलाई प्राथमिकता दिएको आफूले पाएको बताउँदै उहाँको सक्रियताले वीरगञ्जको विकासबारे फरक ढङ्गको बहस सुरु हुन सक्ने धारणा व्यक्त गर्नुभयो।  समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले गुप्ताले गरिबी निवारण कोषको परियोजना प्रमुखका रूपमा पर्सामा काम गर्दा न्यून आय भएका नागरिकको जीवनस्तर सुधारका क्षेत्रमा योगदान गरेको स्मरण गर्नुभयो। उहाँका अनुसार गुप्ताको पहलमा जगरनाथपुर क्षेत्रमा स्थानीय स्रोतको प्रयोग गरी ग्यासिफायर प्लान्ट सञ्चालन तथा वैकल्पिक ऊर्जासम्बन्धी कार्यक्रम अघि बढाइएको थियो।नेकपा एमालेका नेता ज्वाला साहले स्थानीय स्रोत, सीप र प्रविधिमा आधारित उद्योग तथा रोजगारी सिर्जनाका क्षेत्रमा गुप्ताले काम गरेको बताउनुभयो। उहाँका अनुसार गोबरबाट बायोग्यास तथा कृषि र औद्योगिक क्षेत्रमा खेर जाने सामग्रीको प्रयोगबाट बायो–पेन्ट, हस्क पेलेटलगायतका उत्पादनसँग सम्बन्धित काममा पनि गुप्ताको संलग्नता रहेको थियो। पत्रकार छट्ठु साहले पर्सामा कार्यक्रम प्रमुखका रूपमा कार्यरत रहँदा गुप्ताले समुदाय परिचालनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। उहाँका अनुसार औपचारिक कार्यक्रममा फूलमालाको सट्टा राष्ट्रिय गानबाट स्वागत गर्ने अभ्यास, बर–पीपलका बिरुवा रोप्ने अभियान तथा विपन्न परिवारलाई रोजगारीमूलक गतिविधिसँग जोड्ने कार्यक्रम सञ्चालनमा उहाँको भूमिका थियो।गुप्ताले वीरगञ्ज नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्र भए पनि सहरी व्यवस्थापनका आधारभूत समस्या अझै चुनौतीका रूपमा रहेको बताउनुभएको छ। उहाँले सडक, ढल, डुबान, फोहोर व्यवस्थापन, पार्किङ, यातायात, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा र सार्वजनिक सेवामा सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभएको छ। फोहोर व्यवस्थापनका लागि घर तथा व्यवसायबाटै फोहोर वर्गीकरण गर्ने, पुनःप्रयोग गर्न मिल्ने सामग्री छुट्याउने र जैविक फोहोरबाट उपयोगी वस्तु उत्पादन गर्ने एकीकृत प्रणाली आवश्यक रहेको उहाँको प्रस्ताव छ। त्यस्तै, डुबान नियन्त्रणका लागि सडक र ढललाई छुट्टाछुट्टै योजना बनाएर होइन, समग्र जलनिकास प्रणालीको अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने उहाँको भनाइ छ।वीरगञ्जको औद्योगिक पहिचानलाई स्थानीय रोजगारी र आर्थिक विकाससँग जोड्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ। स्थानीय उद्यमशीलता, स्टार्टअप, सीप विकास तथा सार्वजनिक–निजी साझेदारीमार्फत रोजगारीका अवसर विस्तार गर्न सकिने उहाँको धारणा छ।महानगरबाट प्रदान हुने सेवामा डिजिटल प्रणाली विस्तार गरी नागरिकले आवेदनको अवस्था, सेवा प्राप्त गर्ने प्रक्रिया र लाग्ने समयबारे अनलाइनबाटै जानकारी लिन सक्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभएको छ। महानगरका योजना, बजेट तथा खर्चको सार्वजनिक अनुगमन गर्न सकिने प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ।गुप्ताले अन्तर्राष्ट्रिय विकास संस्थासहित विभिन्न क्षेत्रमा १७ वर्षभन्दा बढी काम गरेको विवरण सार्वजनिक गर्नुभएको छ। परियोजना व्यवस्थापन, सरोकारवालासँगको समन्वय, नीतिगत संवाद तथा विकास साझेदारसँगको सहकार्य उहाँको अनुभवका प्रमुख क्षेत्र रहेको बताइएको छ।
वातावरण तथा हरित प्रविधिको क्षेत्रमा समेत काम गरेका गुप्ताले स्वच्छ चुलो, ग्यासिफायर, औद्योगिक तथा व्यावसायिक चुलो, बायो–पेन्ट र हस्क पेलेटलगायतका उत्पादनमा संलग्न रहेको जानकारी दिनुभएको छ। वीरगञ्जजस्तो औद्योगिक सहरमा उद्योग विस्तारसँगै वातावरणीय सन्तुलन, हरियाली र स्वच्छ ऊर्जालाई पनि विकास योजनासँग जोड्नुपर्ने उहाँको धारणा छ।गुप्ताले नगर प्रमुखको पदलाई व्यक्तिगत प्रतिष्ठाभन्दा सार्वजनिक जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभएको छ। निर्वाचित नेतृत्वले पहिलो सय दिन, पहिलो वर्ष र पाँच वर्षमा गर्ने कामको स्पष्ट प्राथमिकता सार्वजनिक गर्नुपर्ने तथा योजना कार्यान्वयनमा नागरिकप्रति जवाफदेही हुनुपर्ने उहाँको भनाइ छ।यद्यपि गुप्ताले वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने औपचारिक घोषणा भने गरिसक्नुभएको छैन। राजनीतिक सहकार्य, उम्मेदवारी र निर्वाचनमा सहभागी हुने विषयमा अन्तिम निर्णय हुन बाँकी रहे पनि उहाँको सम्भावित उम्मेदवारीसँगै वीरगञ्जको विकास, सहरी व्यवस्थापन, वातावरण, उद्योग–रोजगारी र सार्वजनिक सेवा प्रवाहका विषयले स्थानीय बहसमा स्थान पाउन थालेका छन्।