
काठमाडाैं । पोल्याण्डको डिजिटल प्रविधि मन्त्रालय अगाडि ३० वटा जति रोबोटहरूले बलियो एआई नियमन कानुन माग गर्दै प्रदर्शन गरेका छन् । एआईको विकासले मानिसको रोजगार खोसिरहेकाले यसलाई नियन्त्रण गर्न उनीहरूले माग गरेका थिए । प्रदर्शन डेमोक्रेटिज्म नामक अभियानको तर्फबाट आयोजना गरिएको हो । राजधानी वार्सोमा सोमबार भएको यो अनौठो प्रदर्शनमा ह्युमानोइड र कुकुर जस्तै चार खुट्टे रोबोटहरू झन्डा हल्लाउँदै, नारा लगाउँदै र गोलघेरामा घुम्दै सडकमा उत्रिएका थिए । लाउडस्पिकरबाट ‘डिफेन्ड वर्कप्लेसेज’, ‘टाइम फर रुल्स’ र ‘डोन्ट वेट, रेगुलेट’ जस्ता नाराहरू बजाइएको थियो ।‘हामी विशेष गरी मानिसहरूलाई ह्युमानोइड रोबोट र संज्ञानात्मक कामहरूमा एआईद्वारा प्रतिस्थापन गर्ने सम्भावित समस्यालाई सम्बोधन गर्न चाहन्छौं,’ अभियानका आयोजक ग्रेगोर्ज कुलिसले एएफपीसँग भनेका छन्, ‘यदि हामीले अहिले नै रियाक्ट गरेनाैँ भने, हामीलाई चाँडै समस्या हुनसक्छ । कुलिसका अनुसार बाटोमा हिँड्नेहरूको ध्यान तान्नुबाहेक, रोबोटको प्रयोग उनीहरूको हालको क्षमता र समस्याको गम्भीरता देखाउनका लागि गरिएको थियो । ‘यी रोबोटहरू पहिले नै स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्छन् । उनीहरू नै ‘प्रदर्शन’ गरिरहेका छन्,’ उनले थपे । रोबोटहरूको यो मार्चलाई पोल्याण्डका डिजिटल मामिला मन्त्री क्रिज्सटोफ गाभ्कोभस्कीले पनि हेरेका थिए । त्यसपछि उनले भनेका छन्, ‘अनियन्त्रित (एआई) मोडेलहरू, जो ह्युमानोइडहरूमा प्रयोग हुन्छन् र रोबोटाइजेसन अगाडि बढ्दै जाँदा यी थप विकसित हुँदै जान्छन् । याे एक ठूलो समस्या हो ।’ मन्त्री गाभ्कोभस्कीले प्रदर्शनकारीहरूसँग भेटघाट गर्दै आफ्नो मन्त्रालयले नियमनमा काम गरिरहेको बताए । तर याे प्रदर्शनका आयोजकहरूमध्ये एकले संसदमा हाल छलफल भइरहेको योजनामा कामदारहरूको सुरक्षा अपुरो रहेको बताएका छन् । जुलाईमा पोल्याण्डका राष्ट्रपति काराेल नाव्रोत्स्कीले युराेपियन युनियनको एआई एक्ट लागू गर्ने विधेयकमा हस्ताक्षर गरिसकेका छन् ।



