
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै अगाडि निजी क्षेत्रका छाता संगठनका प्रमुखले राज्य र सरकारका प्रतिनिधिले व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकार र राजनीति वृतबाट व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गरे । नेपाल आर्थिक पत्रकार समाज सेजनको २८औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । कोभिड महामारीयता नै अर्थतन्त्र अफ्ट्यारोमा रहेको भन्दै यसलाइ हटाउन राज्यकै पहल आवश्यक रहने उनले बताए । सरकारको प्रोत्साहनपछि अहिले प्रधानमन्त्री राहत कोषमा रकम राख्न प्रतिस्पर्धा चलिरहेको उनले बताए । सो अवसरमा नेपाल उद्योग परिसघका अध्यक्ष वीरेन्द्रराज पान्डेले पूँजीगत खर्च बढाउन सुझाव दिए । विधमान कानुनी जटिलता हटाउदै व्यावसायिक लगानी बढाउनु पर्ने समेत उनले बताए । यसमा परिसंघले निरन्तर पहल समेत गरिरहेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष अञ्जन श्रेष्ठले विगतदेखि आजसम्म सबै सरकारले निजी क्षेत्रलाई मात्र दोषी देखाउने गरेको भन्दै यसो नगर्न आग्रह गरे । ‘सबैले निजी क्षेत्रलाई गाली मात्र गर्ने काम भयो, ‘उनले भने, परिवर्तनको सोचबाट आउनु भएका तपाईंहरू अब त्यो नगरिदिनुहोस् । उनले बाढी प्रभावितको पुनरुत्थानमा निजी क्षेत्रले हातेमालो गर्ने समेत बताए ।



