
काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ । अहिले भर्खरै गृहमन्त्री सुधन गुरुङसहितको गृहमन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल सुरु गरेको छ । छलफलका लागि आजै दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौं आएका थिए । उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि आएका छन् ।छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि गृहमन्त्रालयमा छिन् । गरिमाको न्यायका लागि बारा, काठमाडौंलगायत देशभरका विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेको छ ।



