काभ्रेको खानीखोला जिप दुर्घटना : घाइतेलाई हेलिमार्फत धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । कापलाञ्चोकको खानीखोला गाउँपालिका १ स्याउरेथली जिप दुर्घटनाका गम्भीर घाइतेको हेलिकप्टरमा बेथानचोकको कामीडाँडाबाट उद्धार गरेर धुलिखेल अस्पताल ल्याइएको छ।खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार घटनास्थलबाट नै घाइतेहरुको उद्धारको लागि हेलिकप्टरको व्यवस्था भए पनि बाक्लो कुहिरो कारण समस्या भएको थियो । घटनास्थलको मौसम नखुलेपछि त्यहाँबाट एम्बुलेन्समा बेथानचोक गाउँपालिका ५ को कामीडाँडासम्म ल्याइएको थियो। त्यहाँबाट हेलिकप्टरमा ल्याइएको हो। कामीडाँडाबाट घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धुलिखेल अस्पताल लगिएको बेथानचोक ५ का वडा अध्यक्ष राजकुमार लामाले जानकारी दिए। दुर्घटनामा खानीखोला ४ का कलकबहादुर माझी र बनेपा साँगा घर भई खानीखोला २ माइती हुने पातलीमाया (अनिता) मोक्तानको मृत्यु भएको थियो। साँगाका रावल तामाङ, खानीखोला ३ का प्रदिप जर्गामगर, खानीखोला ५ डुम्रेका बहुतमान रुम्बा र सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका सुकुटेका धनपति रावल गम्भीर घाइते छन्। जिप ब्रेक फेल भएर सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।