
तेह्रथुम । पूर्वी पहाडी जिल्ला तेह्रथुमको छथर गाउँपालिका, लालीगुराँस नगरपालिका तथा धनकुटाको महालक्ष्मी नगरपालिका तरकारी उत्पादनका मुख्य क्षेत्र हुन् । यहाँका धेरै किसान परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो ।यस क्षेत्रमा बन्दागोभी, काउली, मुला, गाँजर, मटरकोसा, आलु उत्पादन हुँदै आएको छ । उत्पादनको बजार ठूलो भए पनि उचित मूल्य नपाउँदा किसान भने निराश छन् । महिनौंको मिहिनेतपछि बारीमा फस्टाएका तरकारीबाट किसानलाई राम्रो मूल्य पाइने आशा हुन्छ । तर बजार पुगेपछि मूल्य घट्दा किसानको आशा निराशामा परिणत हुन्छ । कहिलेकाहीँ त बन्दागोभी प्रतिकिलो ५ रुपैयाँमै बिक्री गर्नुपर्ने अवस्थासमेत आउँछ । बीउ, मल, विषादी, मजदुरी, सिंचाइ र ढुवानी खर्च जोड्दा तरकारी बिक्रीबाट लागतसमेत उठ्दैन । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउनेका विकास गुरुङ तरकारी खेतीमा गरेको श्रम र लगानीको हिसाब गर्दा उल्टै घाटा पर्ने बताउँछन् । ‘तरकारी खेतीमा हामीले गरेको श्रम, पसिना, बीउबिजन, मल र खेतालाको लगानी हेर्ने हो भने घाटा परिरहेको छ,’ गुरुङ भन्छन्, ‘यसरी कहिले हुन्छ कृषि क्रान्ति ? किसानको लागत उठाएर सम्मानजनक आम्दानी पाउने व्यवस्था हुनुपर्छ ।’गुरुङले घरबाटै व्यापारीलाई तरकारी बिक्री गरे पनि त्यसको भुक्तानी भने अझै पाएका छैनन् । तीन/चार वर्ष बितिसक्दा पनि बिक्री गरेको रकम नउठेको उनको गुनासो छ । आफूले व्यापारीबाट मात्रै करिब ५ लाख रुपैयाँ लिन बाँकी रहेको उनी बताउँछन् । गुरुङ जस्तै अन्य किसान पनि उत्पादन बिक्री गरेपछि लामो समयसम्म भुक्तानी नपाउने समस्या रहेको बताउँछन् । महालक्ष्मी नगरपालिका–१ घुमाउनेका स्थानीय टहलबहादुर गुरुङका अनुसार कतिपय व्यापारीले गाउँबाट किसानको उत्पादन उधारोमा लैजाने र रकम तिर्ने बेलामा सम्पर्कविहीन हुने गरेका छन् । ‘वर्षेनी व्यापारीले किसानको उत्पादन उधारोमा लैजान्छन् । अनि, पैसा दिने बेलामा व्यापारी नै बेपत्ता हुन्छन्,’ उनी भन्छन् । छथर गाउँपालिका–१ का किसान विक्रम राई बन्दागोभीको मूल्यले किसानको श्रम र लगानीसमेत उठ्न नसकेको बताउँछन् । ‘मूल्यले बीउ, मल, विषादी, मजदुरी र ढुवानी खर्चसमेत नधान्ने भएकाले उत्पादनमा भएको लगानी उठाउनै कठिन छ,’ उनको अनुरोध छ, ‘राज्यले अब किसानलाई हेर्नुपर्छ ।’ किसानको अर्काे ठूलो समस्या उत्पादनस्थल र उपभोक्ता बजारबीचको मूल्य अन्तर हो । महालक्ष्मी क्षेत्रका किसान मोहन गुरुङका अनुसार गाउँमा किसानले बन्दागोभी प्रतिकिलो ९ रुपैयाँमा बिक्री गर्दा धरान र इटहरीका बजारमा त्यही उत्पादन ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।


