
रौतहट, साउन २४ । चन्द्रपुर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको टकराव यति चर्किएको छ कि नगरसभाबाट बजेट पारित भइसक्दा पनि त्यसलाई कार्यान्वयन गर्ने वातावरण बन्न सकेको छैन। चालु आर्थिक वर्ष २०८३र८४ सुरु भएको लामो समय बितिसक्दा पनि नगरपालिकाको खाता सञ्चालन र बजेट खर्च गर्ने प्रक्रिया अघि बढ्न नसक्दा विकास निर्माणदेखि सर्वसाधारणले पाउने नियमित सेवासम्म प्रभावित भएको छ। नगरपालिकाको आन्तरिक विवादको केन्द्रमा नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालबीचको असमझदारी रहेको कर्मचारी तथा जनप्रतिनिधिहरूको दाबी छ। उनीहरूका अनुसार नगरसभाबाट पारित बजेट कार्यान्वयनका लागि आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाउनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिइँदा नगरपालिका आर्थिक रूपमा चलायमान हुन सकेको छैन। नगरपालिकाका स्रोतका अनुसार असार १० गते सुरु भई साउन ७ गते सम्पन्न नगरसभाको निर्णय पुस्तिका नगर प्रमुखको नियन्त्रणमा रहेको र त्यसपछि बजेट कार्यान्वयनको प्रक्रिया अवरुद्ध भएको आरोप छ। नगरसभाले बजेट पारित गर्ने तर त्यसलाई कार्यान्वयन गर्ने प्रशासनिक प्रक्रिया नै रोकिएपछि नगरपालिकाको नेतृत्वप्रति जनप्रतिनिधिहरूभित्रै असन्तुष्टि बढेको बताइएको छ। एक वडा अध्यक्षले नाम नबताउने सर्तमा भने, “नगरसभाले बजेट पास गरिसकेको छ, तर खर्च गर्ने अधिकार नै नदिएपछि विकास कसरी हुन्छरु अहिले विवाद हाकिमको होइन, नगरपालिकाको भविष्यको भएको छ।” उनका अनुसार नगर प्रमुख वर्तमान प्रमुख प्रशासकीय अधिकृतलाई हटाएर आफूअनुकूलको व्यक्ति ल्याउने प्रयासमा छन्। “आफूले भनेको हाकिम नआएसम्म काम अघि नबढाउने अवस्था सिर्जना भएको छ,” उनले आरोप लगाए। प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले भने आफू नगरपालिकाको काम सञ्चालन गर्न तयार रहेको बताएका छन्। “मेयर साहेबसँग मेरो लामो समयदेखि कुराकानी भएको छैन। अख्तियारी दिएपछि काम गर्न हामी तयार छौं,” उनले भने। अख्तियारी नहुँदा काम प्रभावित भएको विषयमा उनले स्पष्ट रूपमा “काम प्रभावित त अवश्य नै हुन्छ” भने। नगरपालिकाभित्रको विवादमा आर्थिक अनुशासनको विषय पनि जोडिएको कर्मचारीहरूको दाबी छ। केही कर्मचारीका अनुसार हालका प्रमुख प्रशासकीय अधिकृतले इन्धन, होटल, भ्रमण तथा नगरपालिका स्रोत–साधनको प्रयोगमा कडाइ गरेपछि राजनीतिक नेतृत्व असन्तुष्ट बनेको हो। एक कर्मचारीले आरोप लगाए, “पहिले नगरपालिका स्रोत प्रयोग गर्न सहज थियो, अहिले खर्चमा नियन्त्रण भएपछि विवाद बढेको हो।” यद्यपि यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ र नगर प्रमुखको विस्तृत प्रतिक्रिया प्राप्त हुन सकेको छैन। कर्मचारीहरूले कार्यालयमा राजनीतिक दबाब बढेको आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार विभिन्न शाखामा पुगेर कर्मचारीमाथि दबाब दिने, आफूअनुकूल निर्णय गराउन खोज्ने तथा प्रशासनिक काममा हस्तक्षेप गर्ने प्रयास भइरहेको छ। एक कार्यपालिका सदस्यले केही शाखा प्रमुखहरू नगर प्रमुखको दबाबमा परेको दाबी गरेका छन्। नगरपालिकाको राजस्व व्यवस्थापनलाई लिएर पनि विवाद सतहमा आएको छ। हाटबजार, नुनथर, एरिया निकासी करलगायतका आयस्रोत व्यवस्थित रूपमा ठेक्कामा लगाउने विषयमा विवाद रहेको जनप्रतिनिधिहरूको भनाइ छ। उनीहरूका अनुसार पहिले अमानतमा राजस्व उठाउने अभ्यास रहेकोमा अहिले ठेक्का प्रणाली लागू गर्न खोजिएपछि असन्तुष्टि बढेको हो। राजस्व शाखाका कर्मचारीले चार्जिङ स्टेशन सञ्चालनमा समेत अवरोध भएको र त्यसबाट नगरपालिकालाई आर्थिक क्षति पुगेको दाबी गरेका छन्। अर्कोतर्फ, केही कर्मचारी तथा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत ढकाल आएपछि कार्यालयमा प्रशासनिक अनुशासन कायम भएको बताएका छन्। सहकारी शाखा प्रमुख शेख नसरे आलमले कर्मचारीबीच राम्रो समन्वय बनेको, नियमित कार्यालय आउने वातावरण सिर्जना भएको र कर्मचारीले आत्मसम्मानका साथ काम गर्न पाएको बताए। कार्यपालिका सदस्य हिमकला रानाले पनि नगरपालिकाको प्रशासनिक सुधारलाई राजनीतिक विवादका कारण रोक्न नहुने बताउँदै प्रश्न गरिन्, “हाकिमले राम्रो काम गरिरहेको देखिन्छ भने उहाँलाई किन हटाउन खोजिएको होरु” चन्द्रपुरमा अहिले समस्या एउटा हाकिमको सरुवा वा एउटा मेयरको असन्तुष्टिमा मात्र सीमित छैन। प्रश्न नगरपालिकाको संस्थागत शासन प्रणालीमाथि उठेको छ। जनताले तिरेको करबाट संकलित रकम विकासमा खर्च हुनुपर्ने समयमा राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रबीचको शक्ति संघर्षका कारण बजेट नै निष्क्रिय बन्ने अवस्था सिर्जना भएको छ। विकासका योजना सञ्चालन हुनुपर्ने समयमा नगरपालिका आफ्नै आन्तरिक विवादमा फसेपछि यसको प्रत्यक्ष असर सेवाग्राही, उपभोक्ता, निर्माण व्यवसायी, कर्मचारी र समग्र नगरवासीमाथि परेको छ। स्थानीय सरकार सञ्चालनको मूल उद्देश्य जनतालाई सहज सेवा र विकास उपलब्ध गराउनु हो। तर चन्द्रपुरमा नेतृत्वबीचको विवादका कारण ‘बजेट छ, योजना छ, तर काम गर्ने वातावरण छैन’ भन्ने अवस्था सिर्जना हुनु आफैंमा गम्भीर प्रश्न हो।



