
काठमाडौं । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र विशेष अधिवेशनको माग गरिरहेका नेताहरूलाई पार्टी विभाजनको बाटो नलिन आग्रह गरेका छन् ।सोमबार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौँले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता साउदले आन्तरिक मतभेदलाई बिर्सेर पार्टी एकतामा जोड दिनुपर्ने बताएका हुन् । सर्वोच्च अदालतले हालै अदालतमा विचाराधीन मुद्दाको सन्दर्भमा डिभिजन बेन्चको फैसलामाथि पुनरावलोकन गर्ने निर्णय गरेको उल्लेख गर्दै नेता साउदले यसलाई असन्तुष्ट पक्षका लागि ‘सुध्रिने अवसर’ का रूपमा चित्रण गरे । नेता साउदले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा विशेष अधिवेशनको नेतृत्व गर्ने नेताहरूको पनि सहभागिता र महत्वपूर्ण जिम्मेवारी रहेको स्मरण गराए । ‘अदालतको पछिल्लो निर्णयले विशेष अधिवेशनको माग गर्ने साथीहरूलाई सच्चिने एउटा ठूलो अवसर दिएको छ । अब १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनतर्फ लाग्नुपर्छ,’ साउदले भने, ‘तपाईंहरूले गर्ने भनिएको १५ औँ महाधिवेशन विभाजनको महाधिवेशन हुनेछ । हामी एकताको १५ औँ महाधिवेशन चाहन्छौँ । त्यसैले पार्टी तोड्ने जस्तो अन्तिम गल्ती नगर्नुस् ।’ वर्तमान केन्द्रीय समितिकै आयोजनामा १५ औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गरे मात्रै पार्टी एकजुट रहने विश्वास व्यक्त गरे । नेता साउदले पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्कने जानकारी दिँदै २९ गते बस्ने भेलाबाट पार्टीले नयाँ कार्यदिशा र दृष्टिकोण तय गर्ने पनि बताए ।



