
काठमाडौं । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित परिणामपछि अस्तित्व संकटको डिलमा पुगेका आठ पहिचानवादी दल/शक्तिले मोर्चाबन्दी थालेका छन् । शनिबार ती शक्तिहरूले बानेश्वर ब्यांक्वेटमा ‘अग्रगामी मोर्चा’को घोषणा गरेका छन् । कुनै समय मधेशमा लगभग कब्जा जमाएका मधेशवादी दल, पश्चिमको थारु बहुल्य समाजमा दबदबा कायम गरेका नागरिक उन्मुक्ति पार्टी, पूर्वी क्षेत्रमा निरन्तर पहिचानको मुद्दा उठाइरहेको खम्बुवान राष्ट्रिय मोर्चा जस्ता शक्ति यो मोर्चाबन्दीमा सामेल छन् । त्यही मोर्चामा चुनावअगाडि मात्रै स्थापना भएको प्रगतिशील लोकतान्त्रिक पार्टीसमेत सामेल भएको छ । मोर्चाको अवधारणापत्रमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियार, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टीका अध्यक्ष डा. हरिनन्दनकुमार रञ्जन र खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले हस्ताक्षर गरेका छन् ।



