
सर्लाही । अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका–१० स्थित कृष्ण जनरल स्टोरबाट डीएपी मल बिक्री गरिरहेको अवस्थामा मलङ्गवा–७ का अभिनय राय र अभिनन्दन राय पक्राउ परेका छन् । उनीहरूले दिएको बयानका आधारमा प्रहरीले शिवसागर चोकस्थित पसलका सञ्चालक मलङ्गवा–३ का राहुल गुप्तालाई पनि पक्राउ गरेको छ । रायद्वयले डीएपी मल प्रतिबोरा ३ हजार ५०० रुपैयाँमा बिक्री गरिरहेको खुलेको प्रहरीले जनाएको छ । उनीहरूको पसलमा खानतलासी गर्दा ५० किलो तौलका चार बोरा डीएपी र एक बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूले उक्त मल मलङ्गवा–४ शिवसागर चोकस्थित राहुल गुप्ताको पसलबाट प्रतिबोरा ३ हजार २०० मा खरिद गरेको बयान दिएका थिए । त्यसपछि गुप्ता पनि पक्राउ गरेका हुन् । गुप्ताको पसलमा खानतलासी गर्दा सात बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जनाविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।



